मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

आश्विन २५, २०७७ | सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रदेश मूख्य सचेतक गुलावजंग शाहलाई बुझाइएको छ । 

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्ने बारे निर्णय लिइने बताउनुभयो । हस्ताक्षर गर्नेमा पूर्व एमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन् । 

बहुमत सदस्यले संसदीय दलका नेता विरुद्ध अविश्वासको प्रस्ताव पेस गरेकाले दुबै पक्षबीच छलफल गरेर बैठक आह्वान गर्ने मूख्य सचेतक शाहले बताउनुभयो ।

पार्टीभित्रै अविश्वासको प्रस्ताव आएकाले मूख्यमन्त्री शाही विरुद्ध नैतिकताको प्रश्न उठेको छ । यसरी नेतृत्व विरुद्ध अविश्वासको प्रस्ताव आए १५ दिनभित्र बैठक बसेर निर्णय गर्नुपर्ने नेकपाको विधानमा उल्लेख छ । 

एक चौथाई सदस्यले मूख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने र दुई तिहाई मतले पारित गर्ने व्यवस्था छ । कर्णाली प्रदेशमा जम्मा ४० सदस्य छन् । 


प्रतिक्रिया