कोरोनाका कारण सुनसान बने गाउँका चर्खे पिङ्

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोटस्थित बेलौजा गाउँमा रहेको चर्खे (रोटे) पिङ । तस्बिर : माधव अर्याल/रेडियो कान्तिपुर । 

कार्तिक १०, २०७७ | पाल्पा

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटका गणेशबहादुर राना अघिल्ला वर्ष घटस्थापना पछि रोटे (चर्खें) पिङ बनाउन व्यस्त हुन्थे । तर, यसपटक भने कोरोना कहर मात्र होइन, बेलौजा गाउँमा पहिरोले ५ जनाको मृत्यु भएपछि यसवर्ष गाउँ नै सुनसान छ । 

बेलौजा गाउँ शोकमग्न छ । भन्ज्याङ्मा काठैकाठले बनाएको पिङ राख्न पाएनन् । ‘एकातिर कोरोनाको कहर र अर्कोतिर गाउँ पहिरोका कारण शोकमग्न छ,’ उनले भने, ‘त्यसैले यसवर्ष रोटे (चर्खे) पिङ राखिएन ।’

फोक्सिङकोटमा मात्र दर्जन बढी स्थानमा यस्ता पिङ राखिन्थ्यो । तर, यसवर्ष भने कतै पनि यस्ता पिङ देख्न पाइएको छैन । स्थानीय करण रानाका अनुसार कोरोना भाइरस संक्रमणका कारण डर बढेको छ । त्यसैले पनि पिङ राख्ने काम भएको छैन । पुस्तौदेखि राख्दै आएका स्थानमा समेत यसवर्ष पिङमा खेल्न कोही पुगेको छैन । 

‘कतिपय गाउँमा समुदायमा कोरोना संक्रमण बढेकोछ,’ उनले भने, ‘पिङमा भीडभाड हुने भएकाले स्थानीय तहले पिङ नराख्न भनेकाले पनि राखिएन ।’ फोक्सिङकोटमा मात्र होइन, जिल्लाका अधिकांश स्थानमा यस्ता पिङ देखिन्थे ।

‘दसैंमा चर्खे पिङ् खेल्न टोल समुदायमा पुग्ने चलन थियो,’ फोक्सिङकोटका टंकबहादुर सारु मगरले भने, ‘अझ मगर समुदायका युवा चर्खे पिङ राख्न कस्सिने गर्छन् । टोल समुदायमा रमाइलो गर्ने माध्यम यही नै हो ।’ काठै काठले बनेको चर्खे पिङ पहिले–पहिले निकै लोकप्रिय खेल हो । दसैका बेला गाउँका युवायुवती मिलेर त्यस्तो पिङ् बनाउँछन् ।

जिल्लाको अर्चले, ज्यामिरे, बहादुरपुर, मित्याल, झडेवा, गोठादी, बीरकोट लगायत स्थानमा युवाले चर्खे पिङ् बनाउँछन् । ‘यस वर्ष कोरोना कहरका कारण पिङ खेल्नै नपाइने भयो,’ झडेवाका हरि चौहानले भने, ‘मेला, भलिबल प्रतियोगिता पनि पिङकै कारण राख्न पाइएन ।’ बजारमा खेल्न पाईने ठूला–ठूला चर्खे पिङ्को सानो र परम्परागत रुप नै गाउँघरमा बनाइने चर्खे पिङ् हुन् । त्यस्ता पिङ्को आफ्नै महत्व छ । युवायुवतीहरु दसंै तिहार आउन थालेपछि पिङ् बनाउन जुट्थे ।

दशैं र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने उनीहरुलाई चर्खे पिङ् बनाउने फुर्सद हुन्नथ्यो । चर्खे पिङ् बनाउन समय लाग्छ । काठै काठको बनाउने भएकाले सामुदायिक वनले सजिलै काठ दिन समेत खोज्दैनन् । गाउँका युवायुवतीको भेट हुने थलो पिङ् थियो । दसैमा टिका लगाउन हिँड्नेहरु आज एक दिन जमिन छाड्नुपर्छ भन्दे रोटे अर्थात् चर्खे पिङ् खेल्थे ।


प्रतिक्रिया