बाघको आक्रमणबाट बर्दियामा थप एकको मृत्यु

कार्तिक १५, २०७७ | बर्दिया

बाघको आक्रमणबाट बर्दियामा थप एकको मृत्यु भएको छ । गाई, गोरु चराउन गएका गेरुवा गाउ‘पालिका–४ राजीपुर निवासी ६८ वर्षीय लहानु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । 

शनिबार सॉझ करीब ६ बजे बाघले आक्रमण गर्दा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी योगेन्द्र खड्काले बताउनुभयो । एउटा गाई नफर्केपछि झारीमा खोज्न गएका बेला थारुलाई बाघले आक्रमण गरेको हो । 

बाघको आक्रमणबाट एउटा गाई पनि मरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा बाघ पसेर थारु र गाई मारेको प्रहरीले जनाएको छ । स्थानीय हिरालाल थारुको नम्बरी जग्गामा रहेको झारीमा बाघले आक्रमण गरेको हो । 

पछिल्लो नौ दिन यता बाघको आक्रमणबाट थारु समेत चार जनाको मृत्यु भईसकेको छ । केहीदिन अघि बाघले मधुवन नगरपालिका–३ धनौरामा तीन जनाको ज्यान लिएको थियो । 


प्रतिक्रिया