कोरोना संक्रमणबाट कैलालीमा थप चार जनाको मृत्यु

कार्तिक २४, २०७७ | धनगढी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कैलालीमा थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेका तीन र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टिकापुर नगरपालिका–१ स्थित आफ्नै घरमा आईसोलेसनमा बसेका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । 

कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेका सोही वडाका ९० वर्षीय एक वृद्धको सोमबार बिहान मृत्यु भएको छ । त्यस्तै, बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट आईतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । २१ गते अस्पतालमा भर्ना भएका तीन वृद्धमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ८४ वर्षीय ती वृद्धको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेती अस्पतालमा उपचारको क्रममा हालसम्म मृत्यु हुनेको सख्या १० पुगेको छ । 


प्रतिक्रिया