राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको निधन

कार्तिक २७, २०७७ | सुनसरी

राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको बिहीबार निधन भएको छ । नेम्बाङको ९२ वर्षको उमेरमा धरान उपमहानगरपालिका–१८ वीपी गेटस्थित आफ्नै निवासमा निधन भएको हो । 

उहाँ २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बन्नु भएको थियो । वृद्धावस्थासँगै अल्सर, उच्च रक्तचाप, मधुमेह, मुटु, मस्तिष्कघात, पक्षघातबाट पीडित उहाँलाई पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो । 

चिकित्सकहरुले कोरोना संक्रमण मुक्त हुने क्रममा रहेको र अरुलाई सर्न नसक्ने अवस्थामा बताएपनि स्वास्थ्य प्रोटोकल अनुसार स्वर्गीय नेम्बाङको शव व्यवस्थापन भइरहेको उहाँका साहिँला छोरा सुशील नेम्बाङले बताउनुभयो ।

पाँचथरको इम्बुङमा विसं १९८५ फागुन १३ गते जन्मका नेम्बाङ १८ वर्षको उमेरमा विसं २००३ फागुनमा ब्रिटिश गोर्खा सैनिकमा भर्ती भएका थिए । ब्रिटिश गोर्खा सैनिकमा सेवारत हुँदै सात सालदेखि नेपाली कांग्रेसमा आवद्ध भइ ०४६ सालसम्म विभिन्न पदमा रहेर पञ्चायती व्यवस्थाविरुद्ध लड्न सक्रिय भूमिका खेलेका थिए ।

ब्रिटिश गोर्खा सैनिक सेवामा लामो समय सेवा गरेबापत गोर्खा लेप्टनेन्ट पदमा २०२४ सालमा अवकास पाएपछि राजनीति र सामाजिक क्षेत्रका सक्रिय रहँदै आएका थिए । नेम्बाङका श्रीमती, पाँच छोरा र दुई छोरी छन् ।


प्रतिक्रिया