वन्यजन्तुको संरक्षण गर्न पोखरामा वाइल्डलाइफ एम्बुलेन्स

मंसिर १६, २०७७ | पोखरा

बाँसस्थान खलबलिएपछि वन्यजन्तु पछिल्लो समय जंगलबाट खुलमखुला बाहिर हिँड्न थालेका छन् । जसले गर्दा वन्युजन्तुमाथि अवैध रुपमा शिकार गर्नेको संख्या बढ्दै गएको छ । वन्युजन्तु असुरक्षित हुन थालेका छन् । यसो त, मानव बस्तीमा जंगली जनावरको त्रास पनि उत्तिकै बढ्दै गएको छ । 

विशेषगरी चितुवाका कारण गण्डकी प्रदेशमा कयौं बालबालिकाले ज्यान गुमाएका छन् । दिनहुँ शिकार गर्दा वन्यजन्तुको संख्या घट्दै जान थालेपछि पोखरामा वन्यजन्तु उद्दारको लागि वाइल्डलाइफ एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । 

गण्डकी प्रदेश सरकारले पहिलो पटक वाइल्डलाइफ एम्बुलेन्स सञ्चालनमा ल्याएको उद्योग, पर्यटज वन तथा वातावरण मन्त्रालयका सचिव डा.महेश्वर ढकालले जानकारी दिनुभयो । ‘तनहुँ, कास्की र स्याङ्जामा चितुवाको समस्या विकराल छ’ उहाँले भन्नुभयो, ‘मानव र वन्यजन्तुको द्वन्द बढिरहेको छ । मानव र वन्यजन्तु दुबैलाई बचाउनको लागि यो एम्बुलेन्स सञ्चालनमा ल्याएका छौ ।’

वाइल्डलाइफ एम्बुलेन्स खरिदका लागि मन्त्रालयले झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । प्रदेशका कुनैपनि स्थानमा आवश्यकता र भवितव्यमा प्रयोग गर्न सकिने सो एम्बुलेन्समा सुरक्षित ट्रलिसमेत जडान गरिएको छ । 

वन्यजन्तुसँग मिल्दोजुल्दो चित्र टाँसेर सजाइएको छ । सचिव ढकालका अनुसार एम्बुलेन्स सञ्चालन गरिएपनि प्राविधिकको जनशक्ति आवश्यक छ । ‘प्राविधिक नभएसम्म कसरी उपचार गर्ने ?’ उहाँले भन्नुभयो, ‘घाइते जनावरलाई समय–समयमा मिलाएर औषधि सेवन गराउन अन्यले जान्दैनन्, सकिंदैन पनि । यसको लागि हामी छिट्टै नै प्राविधिकको व्यवस्था गर्नेछौ ।’ 

घाइते जंगली जनावरको उद्दार गर्ने, उपचार गर्न र झुक्किएर वा भागेर मानव वस्तीमा आइपुगेमा उद्दार गर्नको वाइल्डलाइफ एम्बुलेन्स प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ । सो एम्बुलेन्सले जंगली जनावरको छिटो र सुरक्षित उद्दार गर्न मद्दत पुग्ने डा.ढकालले बताउनुभयो । 

उहाँका अनुसार कुनै पनि ठाउँमा जंगली जनावर घईते अवस्थामा फेला परे तथा भागेर मानव वस्तीमा आएमा त्यसलाई लगेर पँचभैयामा रहेको मिनीजुमा राखिनेछ । घाईते अवस्थाको वन्यजन्तुलाई उपचार गरिनेछ । उपचारपछि निको भएका वन्यजन्तुलाई पुन: जंगलमा नै लगेर छाडिने उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले यो एम्बुलेन्सले वन्यजन्तु संरक्षण र मानवको जीवन रक्षामा पनि सहयोग पुग्ने बताउनुभयो ।

 ‘पछिल्लो समय मासिंदै गएका वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो, ‘कतिपय वन्यजन्तु त उपचार नपाएर नै मरेका छन् । चाहेर पनि उद्दार गर्न सकेका थिएनौं । अब भने वन्यजन्तुको संरक्षणसँगै संख्यामा पनि वृद्धि हुनेछ ।’ 


प्रतिक्रिया