रुकुम पश्चिममा एकैदिन ९८ कर्मचारी अनुपस्थित

रुकुम पश्चिमस्थित जिल्ला प्रशासन कार्यालयको भवन । तस्बिर : हरि गौतम/रेडियो कान्तिपुर । 

पुस १, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिममा एकैदिन ९८ जना कर्मचारी कार्यालय नआएको पाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयले गरेको छड्के निरीक्षणका क्रममा संघ तथा प्रदेश मातहतका १३ कार्यालयका ९८ जना कर्मचारी अनुपस्थित भएको पाइएको थियो । 

जिल्ला प्रशासनले १७ वटा कार्यालयको छड्के अनुगमन गरेको थियो । जसमध्ये ६ वटा कार्यालयका प्रमुख नै कार्यालयको सम्पर्क बाहिर रहेको पाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । कार्यालयलाई कुनै जानकारी नै नगराई, बिदा स्वीकृत नगराएर कर्मचारीहरु सम्पर्क बाहिर रहेको पाइएको प्रजिअ गैह्रेले बताउनुभयो । 

केही कर्मचारीहरु लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको समेत पाइएको प्रजिअ गैह्रेले बताउनुभयो । तोकिएको समयमा र नियमित रुपमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुख सहितका कर्मचारीलाई सम्बन्धित कार्यालय मार्फत ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

साथै कर्मचारीलाई नियमितता र समयको पालना नगराउने, बिदा स्वीकृत नगराई बिदामा छाड्ने तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित नगराउने कार्यालय प्रमुखलाई समेत जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण सोधेको छ । 

चित्त बुझ्दो स्पस्टीकरण नदिएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने प्रजिअ गैह्रले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेका सबै कार्यालयको हाजिरी रजिष्टर समेत जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना, जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालयको छड्के निरीक्षण गरेको थियो । यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, नापि कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, स्वास्थ्य सेवा कार्यालयको पनि छड्के निरीक्षण परेका छन् । 

तरकारी बीउ उत्पादन केन्द्र चाँपा, डिभिजन वन कार्यालय, पहाडी साना किसानका लागि अनुकूलन आयोजना आशा परियोजना, तथ्याङ्क कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, समाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र कृषि विकास कार्यालय छड्केमा परेका हुन् ।


प्रतिक्रिया