बाँकेका विपन्न समुदायका ६१ परिवारलाई घर हस्तान्तरण

पुस २८, २०७७ | नेपालगञ्ज

बाँकेको कोहलपुर नगरपालिकाका विपन्न समुदायका ६१ परिवारले पक्की घर पाएका छन् । कोहलपुर नगरपालिकाको १२, १४ र १५ नम्बर वडामा निर्माण गरिएका ६१ वटा घर स्थानीय दलित, लोपन्मुख समुदायलाई हस्तान्तरण गरिएको हो । 

लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडीमार) कार्यक्रम अन्तर्गत बराण्डा र शौचालय सहितको दुई कोठे घर निर्माण गरी उनीहरुलाई हस्तान्तरण गरिएको हो । 

शहरी विकास तथा भवन कार्यालय बाँकेका कार्यालयका प्रमुख रामआश्रय साहले आर्थिक वर्ष २०७६/७७ मा जनता आवास कार्यक्रम अन्र्तगत ६१ वटा घर निर्माण सम्पन्न गरी दलित, लोपन्मुख समुदायलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँका अनुसार कोहलपुरको वडा नम्बर १२ मा ३४ वटा, १४ मा १५ वटा र वडा १५ नम्बरमा १२ वटा घर निर्माण गरिएको हो । 

साहका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडीमार) कार्यक्रम अन्तर्गत ७१ वटामध्ये ६१ वटा सम्झौता भएर काम सकिएको हो । शहरी विकास तथा भवन कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा संघीय सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् । 

कोहलपुरको वडा नम्बर ३ मा ५ वटा, वडा नम्बर १२ मा १० वटा, वडा नम्बर १३ मा २८ वटा घर बनेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि वडा नम्बर १२ मा ११ वटा घर बनाउने सम्झौता भएको छ । कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा घर बनेका थिए । वडा नम्बर १५ मा १४ र वडा नम्बर १४ मा १९ घर रहेका छन् । 

शहरी विकास तथा भवन कार्यालयका प्रमुख साहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णय अनुसार एक हजार ३७ र पुरानो संघीय कार्यालयबाट निर्माणाधिन ८ सय २९ वटा गरी एक हजार आठ सय ६६ वटा मध्ये एक हजार तीन सय ५५ वटा घर निर्माण गरिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया