हुस्सुले दुई दिनदेखि उडान प्रभावित

पुस २८, २०७७ | काठमाडौं

बाक्लो हुस्सुका कारण पछिल्लो केहीदिन यता आन्तरिक उडान प्रभावित हुँदै आएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराई तथा दुर्गम भेगका विभिन्न जिल्लामा हुने उडान प्रभावित भएको हो ।

 तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज लगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । 

बुद्ध, यती, श्री एयरलाइन्स लगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । हिजो तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका थिए । आज पनि ८८ उडान तालिका रहेको भएपनि हस्सुका कारण उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान प्रभावित भएपनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । 


प्रतिक्रिया