चुनाव एकदिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली

माघ १९, २०७७ | धनुषा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा हुने भनिएको चुनाव एकदिन पनि पर नसर्ने बताउनु भएको छ । निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेकाले धनुषामा बैशाख १७ गते नै चुनाव हुने उहाँले बताउनुभयो । 

‘धनुषाको यो क्षेत्रमा बैशाख १७ गते नै चुनाव हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’ सोमबार धनुषाको ढल्केवरमा सव–स्टेशन उद्घाटनपछि आयोजित कार्यक्रममा उहाँले आफूलाई मधेस विरोधी भनेर प्रचार गरिएकोमा आपत्ति जनाउनुभयो । 

‘केपी ओली मधेस विरोधी हो भनेर कान–कानमा पुर्‍याएका होला । ती मधेस प्रेमी डोम, चमार र दुसाधको छोरालाई काखमा राख्न सक्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हेरुँ त कतिको मधेसी प्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिँचाइ बनाउँछ । तराईमा सिँचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौं ।’ 

प्रधानमन्त्री ओलीले जनकपुर–ढल्केवर ६ लेन सडक बनेपछि युवाहरु हातै छोडेर मोटरसाइकल चलाउन खोजेको बताउँदै भन्नुभयो, ‘तर म भन्छु मोटरसाइकल हातले समाएरै चलाउनुस ।’ प्रधानमन्त्री ओलीले राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नराम्रो नभएको बताउनुभयो ।

‘पुशपतिमा १ सय १ किलोको सुनको जलहारी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उहाँले भन्नुभयो, ‘चाँदीकै हाल्नुपथ्र्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाइँको बुबा पण्डित तपाइँ किन पत्रकार हुनुभयो । पण्डितै भएको भए पो परम्परा बाँच्थियो । मेरो बुबा प्रधानमन्त्री थिएर म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

 प्रधानमन्त्री ओलीले पार्टीभित्र उप्रदो गर्नेहरु अलग भएको पनि बताउनुभयो । ‘टेलिभिजनमा गयो । उफ्रियो । सरकार र पार्टीलाई गाली गर्‍यो । त्यति नै थियो उनीहरुको काम,’ ओलीले भन्नुभयो, ‘दशा लागेको रहेछ । प्रधानमन्त्री खान हिँडेका थिए । एउटा भनाइ छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबिन ।’


प्रतिक्रिया