भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन

माघ २९, २०७७ | भक्तपुर

भक्तपुर नगरपालिकाले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेक) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाले स्थापना गरेको श्वासप्रश्वास पुनर्स्थापना केन्द्र बिहीबारबाट औपचारिक रुपमा सञ्चालन भएको हो । 

नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले केन्द्रको भवन तथा सेवा सञ्चालनको उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेंले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र स्थापनाले भक्तपुर लगायत देशभरिका दीर्घ दमखोकी भएका व्यक्ति लाभान्वित हुने बताउनुभयो । 

नगरपालिकाले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनका लागि करीब १ करोड ८२ लाख रुपैयाँ लागतमा भक्तपुर–९ तुमुचो स्थित मौलिक शैलीमा भवन निर्माण गरेको छ । केन्द्रको स्थापनाका लागि जापान सरकार र त्यहाँका नागरिक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र स्थानीय एकीकृत विकास समाज नेपालले सहयोग गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । 

केन्द्रमा दीर्घ दमखोकी भएका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको पहिचान तथा पुनर्स्थापनाको उपयुक्त विधिको छनौट गरी उपचार गर्ने, दीर्घ दमखोकीको बिरामीको उपचार गर्ने, आवश्यक औषधि सम्बन्धी सेवा तथा सल्लाह दिने, श्वासप्रश्वास पुनर्स्थापना सम्बन्धी अभ्यासहरु सिकाउने जनाएको छ । 

त्यस्तै, दीर्घ दमखोकी भएका व्यक्तिहरुको लागि आवश्यक पोषण सम्बन्धी परामर्श सेवा, दीर्घ बिरामीहरुको लागि उपयुक्त मनोविमर्श सेवा, दीर्घ दमखोकी रोग रोकथामको लागि आवश्यक शिक्षा तथा सीप प्रदान तथा श्वासप्रश्वास पुनर्स्थापना सम्बन्धी चिकित्सक नर्स लगायत स्वास्थकर्मीहरुलाई तालिम दिने नगरप्रमुख प्रजापतिले बताउनुभयो । 

भक्तपुर नगरपालिकाको आठौं नगरसभाले केन्द्र सञ्चालनका लागि ‘श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन नियमावली–२०७७’ समेत पारित गरेको थियो । 

श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले दीर्घ दमखोकी भएका व्यक्तिहरुको रोगको निदान गर्ने र श्वासप्रश्वास पुनर्स्थापना सेवा प्रदान गर्ने, दीर्घ दमखोकी भएका व्यक्तिहरुको प्रारम्भिक निदान, उपचार र पुनर्स्थापनाका लागि सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने र राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा उत्कृष्ट केन्द्रको रुपमा श्वासप्रश्वास पुनस्र्थापन सम्बन्धी विशेषज्ञता र संशाधनहरु प्रदान गर्ने लगायत उद्देश्य नियमावलीमा उल्लेख छ ।


प्रतिक्रिया