वीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

फाल्गुन ५, २०७७

आफूहरुको माग सम्बोधन नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक समाजले उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिको कार्यकक्षमा तालाबन्दी गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइललाई अगाडि नबढाएको, कोरोना उपचारमा संलग्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको लगायत प्रतिष्ठानकै हितमा गरिएका अन्य मागहरु बारे पदाधिकारीहरु चुपचाप बसेको भन्दै चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो । 

समाजका अध्यक्ष डा विष्णु पोखरेलले पटक पटक ज्ञापनपत्र दिदैं आएपनि सुनुवाई नभएकाले उपकुपतिको कार्यकक्षमा तालाबन्दी गरिएको बताउनुभयो । प्रतिष्ठानको चिकित्सा कल्याण समाजमा २ सय ७० जना चिकित्सकहरु आवद्ध छन् । प्रतिष्ठानको शिक्षाध्यक्ष प्राडा गुरु खनालको कार्यकक्षमा एकसाता अघि नै समाजले तालाबन्दी गरिसकेको छ । समाजका महासचिव डा एसपी रिमालले माग सम्बोधन गर्न पदाधिकारीहरुले आलटाल गरेको र सुस्तता देखिएकाले आजदेखि थप कडा आन्दोलनमा उत्रनु परेको बताउनुभयो । 

तत्काललाई शैक्षिक क्षेत्र र इमर्जेन्सी सेवा, ओपिडी, वार्डको उपचार सेवा क्षेत्रलाई भने आफुहरुको आन्दोलनले कुनैपनि असर नपुर्‍याएको उहाँले बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राडा गिरिले भने चिकित्सक कल्याण समाजकै माग सम्बोधन चाँडो गर्न काठमाण्डौंमा मन्त्रालय र लोकसेवा आयोगमा चारदिन देखि धाइरहेको बताउनुभयो । 


प्रतिक्रिया