कांग्रेस नेता जोशीको गम्भीर अवस्थामा उपचार हुँदै

फाल्गुन १४, २०७७ | काठमाडौं

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मस्तिष्कघात भएपछि आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्वमन्त्री जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

उपचारमा संलग्न न्युरोसर्जन डा.राजीव झाले गम्भीर अवस्थामा उहाँको उपचार भइरहेको जानकारी दिदै उपचार जारी राखेको बताउनुभयो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको बताउदै डा.झाले जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको र मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन पाइप राखेको जानकारी दिनुभयो । 

उहाँको टाउकोबाट १३० एमएल पानी निकालिएको र सामान्य शल्यक्रियापछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रेस ब्रिफिङका क्रममा डा.झाले बताउनुभयो । उच्चरक्तचाप लगायतका समस्या भएका व्यक्तिले नियमित औषधि सेवन नगर्दा यो समस्या आएको डा.झाको भनाई छ ।  


प्रतिक्रिया