बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

फाल्गुन २६, २०७७ | बर्दिया

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघको आक्रमणबाट स्थानीय २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो । 

घाँस काट्न गएकी सुनारलाई नेपाल–भारत सीमासँगै जोडिएको पिलर नम्बर ८४ र ८५ को बीचमा बाघले आक्रमण गरेको भगरैयास्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) प्रहरी निरीक्षक अस्मिन मगरले बताउनुभयो । 

सुनार सहित ६ जना घॉस काट्न जंगलमा पुगेका थिए । सुनारलाई बाघले आक्रमण गरेपछि अन्यले भने भागेर ज्यान जोगाएका थिए । सुनारको शव दशगजामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गुलरिया पठाइएको छ । 

चालू आर्थिक वर्षको गत असोज यता बर्दियामा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भईसकेको छ । गत असोज ५ गते घ‘ास काट्न गएकी मधुवन–३ कि २६ वर्षीया गंगा खत्रीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

कात्तिक ११ गते स्थानीय बेलझुण्डी सामुदायिक वनमा च्याउ टिप्न गएकी २६ वर्षीय रमेश चौधरीलाई बाघले आक्रमण गरी मार्‍यो । सोही दिन रमेशलाई खोज्न जाँदा मधुवन–३ भगरैयाका २८ वर्षीय दिनेश चौधरीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

गत मंसिर ८ गते मधुवन–५ का ४७ वर्षीया ललीसरा पुनलाई बाख्रा चराउँदा बाघको आक्रमणमा घाईते भईन । बाख्रा चराउन गएकी अन्य महिलाले हल्ला गरेपछि बाघ भागेपछि उनको ज्यान जोगियो ।


प्रतिक्रिया