भक्तपुरमा ग्यास सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते

चैत्र ९, २०७७ | भक्तपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक खाजा पसलमा ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा सञ्चालित भिमेश्वर मम एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्यासको सिलिण्डर पड्केर आगलागी भएको हो ।
आगलागीबाट घाइते हुनेमा होटल सञ्चालक दोलखाको शैलुङ गाउँपालिका–६ घरभई सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टिकाराम बस्नेत, शैलुङ गाउँपालिका–१ घरभई कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की छन् ।
त्यसैगरी, आगलागीबाट होटलमा आएका तीन जना सेवाग्राही समेत घाइते भएका छन् । झापा बुद्धशान्ति गाउँपालिका–२ घरभई भक्तपुर सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते भएका छन् ।
घाइते सबैको कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा उपचार भईरहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताउनुभयो । आगलागीबाट २ वटा फ्रिज, फर्निचर लगायत सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।