बजेट अभावमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण अन्योलमा

चैत्र १०, २०७७ | भक्तपुर

भूकम्पको धक्काले क्षतिग्रस्त श्रीपद्म माविको भवन पुनर्निर्माण बजेट अभावका कारण अन्योलमा परेको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा (सीएलपीआईयू) र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा (डीएलपीआईयू) मार्फत क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका प्रयास भए । 

पटक–पटक भवन पुनर्निर्माणका लागि बजेट विनियोजन समेत भयो तर, भक्तपुर नगरपालिकाले नक्सापासमा आलटाल गरिदिँदा विनियोजित बजेट फिर्ता गयो । विद्यालयमा अध्ययनरत विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य छन् । 

भूकम्प गएको झण्डै ७ वर्षसम्म पनि क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको टुङ्गो नलागेको श्रीपद्म माविका प्रधानाध्यापक राम हाडाले बताउनुभयो । ‘नक्सा प्रक्रिया ढिलाईले सीएलपीआईयू र डीएलपीआईयू मार्फत विनियोजन बजेट फिर्ता गयो,’ उहाँले भन्नुभयो, ‘अब भने नगरपालिकाले नयाँ भवन निर्माणका लागि नक्सा इजाजत पत्र दिएको छ तर, बजेट छैन ।’

सरकारले श्रीपद्म माविलाई नमूना विद्यालयमा समेत छनोट गरेको छ । १९८१ मा स्थापित श्रीपद्म माविको राणाकालीन भवन क्षतिग्रस्त छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसर (९९ चोक) भित्र पर्ने उक्त विद्यालय पुरातात्विक संरचना निर्माणको अन्योलले कठीनाई भएको डीएलपीआईयू भक्तपुरले जनाएको छ । 

डीएलपीआईयू भक्तपुर प्रमूख भरतबहादुर श्रेष्ठले भन्नुभयो, ‘ठेक्का मार्फत निर्माण हुनुपर्ने जिल्लाकै एक मात्र नमूना विद्यालय स्थानीय तहबाट समयमा नक्सा पास नहुनाले बन्न नसक्ने अवस्था आयो ।’ छनोट गरिएका नमूना विद्यालयलाई दातृ निकायले अत्याधुनिक प्रविधि जडित आवासीय नमूना विद्यालय बनाइदिने घोषणा गरेको थियो । 

छनोट भएका विद्यालयको भौतिक संरचना र कक्षा/कोठा व्यवस्थापन शिक्षण सिकाई गर्न तालिम हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र/छात्राको शौचालय, इन्डोर/आउटडोर खेलमैदान निर्माण गर्ने लक्ष्य छ । 

विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, इ–लाइब्रेरी, इन्टरनेट सहित कम्प्यूटर, फोटोकपी मेसिन, विषयगत र अन्तरविषय पुस्तक, जर्नल, पत्रपत्रिकाको व्यवस्था गर्ने जनाएको थियो । तर, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)बाट बजेट समेत विनियोजित भई ठेक्का प्रक्रियामा रहेको विद्यालय भवनको पुनर्निर्माणका लागि पुरातत्व क्षेत्रलाई कारण देखाउँदै भक्तपुर नगरपालिकाले नक्सापास नगरिदिँदा ढिलाई भयो । 

पद्म माविको क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि विनियोजित बजेट र परियोजना सकेपछि नक्सापास बनेपछि बजेट अभाव भएको हो । दरबार क्षेत्रकै विद्यार्थी निकेतन माविको अवस्था थप कठीन छ । क्षतिग्रस्त रातो स्टिकर टाँसेको भवनमा विद्यालय प्रशासन, लेखा, कम्प्यूटर ल्याब लगायत सञ्चालित छ । 

बालबालिकाले अस्थायी टहरमा पढ्न बाध्य छन् । ‘भवन अभावका कारण अतिरिक्त क्रियाकलाप गराउन कठीन छ,’ विद्यालयकी प्रधानाध्यापक सर्जनी जोशीले भन्नुभयो, ‘विद्यालय पुनर्निर्माण अनिश्चित जस्तै भएको छ ।’ २००४ मा स्थापित विद्यालय पुनर्निर्माणका पेश गरेको नक्सा नगरपालिकाले अध्ययनको लागि राखेको उहाँले बताउनुभयो ।

त्यस्तै, दरबार क्षेत्रकै शारदा माविको अवस्था पनि उस्तै छ । भूकम्पका कारण क्षतिग्रस्त तीनतले भवनको दुई तला भत्काएको रातो स्टिकर टाँसेको भवनमा प्रशासन, पुस्तकालय, कम्प्यूटर ल्याब, लेखा, प्रशासन सञ्चालित छ । भूकम्पपछि दाताको सहयोगमा निर्मित अस्थायी टहरामा अध्यापन गराउँदै आएको छ । २००९ मा स्थापित विद्यालय पुनर्निर्माणका लागि नगरपालिकामा नक्सापास प्रक्रिया थालेको जनाएको छ ।

भूकम्पको धक्काले क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्रका तीन वटै विद्यालय पुनर्निर्माण अन्योलमा परेको छ । नगरपालिकाले सम्पदा क्षेत्रमा पुनर्निर्माण गर्दा सम्पदा सुहाउँदो संरचना निर्माण हुनुपर्ने भन्दै नक्सापासमा ढिलाई गरिरहेको विद्यालय प्रशासनले जनाएको छ । दरबार क्षेत्र भित्रका श्रीपद्म र विद्यार्थी निकेतन मावि पुनर्निर्माणका लागि सर्भे तथा डिजाईनको सम्पन्न भईसकेको तर, नक्सापासका कारण गत आर्थिक वर्षमै प्रोजेक्ट सम्पन्न भएको डीएलपीआईयू भक्तपुरले जनाएको छ । 

डीएलपीआईयू भक्तपुर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘नगरपालिकाले नक्सापासमा गरेको ढिलाईले दरबार क्षेत्रका तीन विद्यालय पुनर्निर्माण अन्योल छ ।’ नगरपालिकाले भने सम्पदा क्षेत्रभित्र पर्ने संरचना निर्माणमा ध्यान दिनुपर्ने जनाएको छ । ‘विश्व सम्पदा क्षेत्रभित्रका संरचना निर्माणमा अन्य क्षेत्रको जस्तो सहज हुँदैन,’ नगरप्रमुख सुनिल प्रजापतिले भन्नुभयो, ‘९९ सय चोकभित्रका संरचना निर्माणमा अध्ययन, उत्खनन हुन आवश्यक छ ।’ 

भूकम्पले क्षतिग्रस्त सिरुटार माविको भवन पुर्निर्माणका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउन सकेको छैन । डीएलपीआईयू भक्तपुरका अनुसार ०७२ बैशाखको भूकम्पले क्षतिग्रस्त ५४ वटा विद्यालयको भवन पुनर्निर्माण भईसकेको छ भने, ७ वटा विद्यालयको भवन पुनर्निर्माण भईरहेको छ । २५ वटा विद्यालयको शौचालय पुनर्निर्माण सम्पन्न भएको र २४ विद्यालयको शौचालय तथा ४५ विद्यालयमा खानेपानीको सुविधा पुगिसकेको जनाएको छ ।  


प्रतिक्रिया