टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदै

आश्विन २७, २०८२ | काठमाडौं
पुरुष टी–२० विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानमा जारी छनोटमा नेपाल र कतारबीचको खेल नेपाली समयानुसार पौने ९ बजे शुरु हुनेछ । सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले हिजो युएईमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो । समूह बिजेता हुँदै सुपर सिक्समा पुगेको नेपाल ४ अंकसहित सुपर सिक्सको अंकतालिकामा दोस्रो स्थानमा छ ।
समूह बिजेता बन्दा पाएको बोनस दुई अंक र युएईविरुद्धको जितबाट प्राप्त दुई अंकसहित नेपाल दोस्रो स्थानमा रहँदै विश्वकपतर्फ अघि बढेको टोली हो । सुपर सिक्सका शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन् ।
सुपर सिक्समा ओमान ४ अंकसहित पहिलो स्थानमा रहँदा युएई २ अंकसहित तेस्रो स्थानमा छ । सुपर सिक्समा रहेका जापान, सामोआ र कतार भने अंकविहीन छन् ।