कालीकोटको पान्तडी बेलिब्रज निर्माण अलपत्र

चैत्र १६, २०७७

सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको महाबै र शुभकालीका गाउँपालिका जोड्ने तिला नदीमा बेलिब्रज निर्माणको काम ठेकेदारको लापरबाहीका चार वर्षदेखि अलपत्र परेको छ । पुल निर्माणका लागि सडक विभागको ३० लाख र महाबै गाउँपालिकाको १ करोड रुपैयाँ खर्च भईसकेको छ ।

पान्तडीमा बेलिब्रिज निर्माण गर्न सडक विभागले दैलेखको रामाघाटमा नेपाली सेनाले जडान गरेको बेलिब्रिजको स्टिल पार्ट जडान गर्न १ करोड १४ लाख रुपैयाँको स्टिमेट तयार गरी ठेक्का गरेको थियो । तर, हिमाली निर्माण सेवा जुम्लाले ८२ लाखमा २०७४ चैतमा ठेक्का पाएको थियो । ०७५ असारसम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएपनि काम पूरा हुन सकेको छैन । बेलिब्रज निर्माणको लागि भएको ठेक्का अनुसार काम नभएपछि सम्झौता रद्दको तयारी भईरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । स्टिल पार्टको नटबोल्ड नमिलेकाले ढिलाई भएको पेटी ठेकेदार अक्कल बहादुर शाहीले बताउनुभयो । 


प्रतिक्रिया