बागलुङ घटनामा संलग्‍न भएको आरोपमा ६ जना पक्राउ

चैत्र १८, २०७७ | बागलुङ

बागलुङ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । होली पर्वमा दुई जनाको ज्यान जानेगरि भएको झडपमा संकाशस्पद २ जना गुल्मी र ४ जना बागलुङबाट पक्राउ परेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ बर्षका प्रकाश कुँवर र ३४ बर्षका दिपक परियारको मृत्यु भएको थियो ।

 अन्य ६ जना घाइते छन् । घटनास्थलदेखि ४ सय मीटर तल मृतकको शव भेटिएको थियो । मृतक कुँवर कांग्रेसका जिल्ला सदस्य र परियार सक्रिय कार्यकर्ता हुन् । गत आइतवार बागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बलधुरेमा लागेको मेलामा झडप भएको थियो ।

 प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सिआइवीको टोली समेत अनुसन्धानमा खटिएको थियो । पीडित पक्षले दोषी पक्राउ नगरेसम्म मृतकको शव नबुझ्ने अडान लिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।  


प्रतिक्रिया