बुद्धकृष्णले आठौं पल्ट जिब्रो छेडाउँदै

जिब्रो छेडाएपछि नगर परिक्रमा गर्दै बुद्धकृष्ण बाग श्रेष्ठ । फाइल फोटो ।  

चैत्र ३०, २०७७ | भक्तपुर

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पल्ट जिब्रो छेडाउने भएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत प्रत्येक बैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । 

बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्म गरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । गत वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईसर (कोभिड–१९) का कारण जात्रा औपचारिकता मै सीमित भयो । यसपल्ट कोरोना भाइरस महामारीकाबीच श्रेष्ठले जिब्रो छेडाउन लागेका छन् । 

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडे बासी मध्येबाट पनि श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सरकारले भिडभाडजन्य कार्य नगर्न/नगराउन अनुरोध गरेपनि नगरपालिकाले भने कुनै बाहानामा जात्रा नरोकिने जनाएको छ । जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइ राखेको करीब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । 

जिब्रो छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पीठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । 

बैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । 

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । 

जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दु:ख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ । हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि पछिल्लो तथ्यांक अनुसार हर्कनर सिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १ पल्ट जिब्रो छेडेका छन् ।

यस्तै, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ७ र जुजुभाइ बास श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।


प्रतिक्रिया