गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

वैशाख १, २०७८ | पोखरा

गण्डकी प्रदेश सरकारविरुद्ध भोलि बिहीबार अविश्वास प्रस्ताव दर्ता हुने भएको छ । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गरी अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै सरकार ढल्ने निश्चित भएको हो । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भोलि मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि

प्रतिपक्षी दल अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् । तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । मुख्यमन्त्रीविरुद्ध भोलि अविश्वास प्रस्ताव दर्ता गर्नेगरी छलफल चलाएको कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले बताउनुभयो । 

गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो । 

उहाँले भोलि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारीमा जुटेको बताउनुभयो । ६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये तीन जना राष्ट्रिय जनमोर्चाका छन् । सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गरेपनि राष्ट्रिय जनमोर्चा सरकारमा भने नजाने भएको छ । 

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले सरकारलाई समर्थन दिएपनि प्रतिपक्षकै सिटमा बस्ने बताउनुभयो । राजमोको समर्थन भइरहेमा मुख्यमन्त्री गुरुङ नेतृत्वको जोगिने भएकाले पछिल्लो समय उसलाई सरकारमा ल्याउन निकै कसरत पनि भएको थियो । तर, उसले मन्त्री अस्वीकार गर्दै आएको छ । 

गण्डकी प्रदेशसभामा एमाले २७, कांग्रेस १५, माओवादी १२, राजमो ३ र जसपाका २ सांसद छन् । सरकार सञ्चालनका लागि ३१ सांसद आवश्यक पर्छ । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले अहिलेकै सरकारलाई समर्थन गरिरहेको भएपनि विपक्षी गठबन्धनले आफ्नो पक्षमा आउने दाबी गरेका छन् । 


प्रतिक्रिया