सुनौला हजार दिनका आमालाई फिल्टर वितरण

वैशाख २, २०७८ | कालीकोट

कालीकोटको खाडाचक्र नगरपालिकाले नगर भित्रका सुनौला हजार दिनका आमालाई पानी छान्ने फिल्टर वितरण गरेको छ । सुनौला हजार दिनका आमासँग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाले गर्भदेखि २ वर्षसम्मका बच्चा भएका आमाहरुलाई फिल्टरसहित फलफूल र अण्डा वितरण गरेको हो । 

नगरसभाबाट यस वर्ष १६ लाख रुपैयाँ बजेट विनियोजन गरेर १० लाखको फिल्टर खरिद गरी १ हजार ३० जना आमाहरुलाई वितरण गर्ने लक्ष्य राखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताउनुभयो । यस वर्ष ९ सय ५० आमालाई वितरण गरिसकेको र ८० जना आमाका लागि सुर्खेतबाट फिल्टर खरिद गरेर ढुवानी गर्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

नवजात शिशु र गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य सुर्धान नगरपालिकाले सुनौला हजार दिनका आमाको पोषणका लागि हरेक बार खाना चार अभियान, आयोडिन युक्त नुन वितरण, पोसिलो पीठो, फलफूल तथा फिल्टर वितरण गरेको हो । 

खाडाचक्र नगरभरीका १ हजार ३ सय जना सुनौला हजार दिनका आमा रहेकोमा वडा वडामा पुगेर फिल्टर वितरण गरिएको हो । गत वर्ष पनि खाडाचक्र नगरपालिकाले सुनौला हजार दिनका आमालाई लक्षित गरी १० लाख रुपैयाँ बजेट विनियोजन गरेर ७ सय ५० जना सुनौला हजार दिनका आमालाई फिल्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खडकराज उपाध्यायले बताउनुभयो । 

नगरपालिकाका दलित र विपन्न समुदायलाई लक्षित गरेर फिल्टर वितरणलाई अभियानको रुपमा सञ्चालन गरिएको उपप्रमुख विजया विष्टले बताउनुभयो । खाडाचक्र नगरपालिकाले नवजात शिशु र मातृमृत्यु दरलाई शून्यमा झार्न नगर सभाबाट बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । 

नगरपालिकाले दाहा स्वास्थ्य चौकीमा गर्भ जाँचका लागि भिडियो एक्सेर सेवा सञ्चालनमा ल्याएको जानकारी दिंदै नगर प्रमुख जसीप्रसाद पाण्डेले नगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वडामा १५ देखि २४ वर्ष उमेर समूहका विवाहित र अविवाहित महिला तथा किशोरीको समूह निर्माण गरेर प्रजनन् शिक्षा सम्बन्धी कक्षा पनि सञ्चालन गरिरहेको छ । यसबाट बालविवाह न्यूनिकरण तथा महिला हिंसामा पनि कमी भएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया