मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने

वैशाख १५, २०७८ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने भएको छ । प्रदेशसभा बैठकमा अहिले सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिइरहेका छन् । 

सांसदहरुले बोलिसकेपछि मुख्यमन्त्री गुरुङले छलफलमा उठेका विषयको जवाफ दिने र त्यसपछि मतदान प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा एमालेका १८, राष्ट्रिय जनमोर्चाका २ र कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका १/१ सांसदले बोल्न नाम दर्ता गराएका छन् । उनीहरुलाई १० मिनेट बोल्ने समय दिइएको छ ।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री गुरुङले चालू हिउँदे अधिवेशन बैशाख १ को मध्यरातदेखि अन्त्य गर्नु भएको थियो । बैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले अविश्वास प्रस्ताव दर्ता गर्दै सोहीदिन प्रदेश प्रमुख अमिक शेरचन समक्ष विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । 

प्रदेश प्रमुख शेरचनले बैशाख १३ मा विशेष अधिवेशन आह्वान गरे अनुसार अहिले प्रदेशसभा बैठक चलिरहेको हो । मंगलबारको बैठक भने सबै सांसदको पीसीआर परीक्षण हुनुपर्ने मागसहित नेकपा एमालेले अवरुद्ध गरेपछि बुधबार १ बजेसम्मका लागि स्थगित भएको थियो । 

एमालेको माग अनुसार मंगलबारै सबै सांसदको पीसीआर परीक्षण गर्दा तीन सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सांसदलाई सभामा बोल्न नदिने तर मतदान प्रक्रियामा भने सामेल गराउने मंगलबारै निर्णय भएको थियो । सोही निर्णय अनुसार मतदान प्रक्रिया हुने भएको हो ।   


प्रतिक्रिया