प्रदेश १ ले पठायो ३ करोड ३५ लाख रुपैयाँ बजेट

वैशाख २३, २०७८ | काठमाडौं

प्रदेश १ सरकारले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न अस्पतालमा ३ करोड ३५ लाख रुपैयाँ बजेट पठाएको छ । कोरोना जनसुरक्षा कोष व्यवस्थापन समितिको बैठकले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलगायतका अस्पतालहरुका लागि आवश्यक सेनिटाइजर, मास्क, पिपिई, एन्टिजेन, औषधीलगायतका स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५० लाख बजेट उपलब्ध गराएको हो । 

कोभिड १९ उपचार केन्द्र सन्चालनका लागि मेची अस्पताललाई २५ लाख, सुनसरी र धनकुटा जिल्ला अस्पताललाई २०/२० लाख बजेट पठाएको समितिका संयोजक मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । जिल्ला अस्पताल उदयपुरलाई आइसोलेसन सेन्टर बेलटारलाई समेत सन्चालन तथा व्यवस्थापन गर्न ३० लाख बजेट उपलब्ध गराएको छ । 

यस्तै, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, ओखलढुंगा र मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारेलाई १०/१० लाख र जिल्ला अस्पताल ताप्लेजुङलाई १५ लाख बजेट उपलब्ध गराएको राईले बताउनुभयो । होल्डिङ सेन्टर निर्माण, सन्चालन तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन मोरङ र झापालाई २०/२० लाख र जिल्ला प्रशासन इलाम, सुनसरी र ओखलढुंगाको हर्कपुरलाई १५/१५ लाख बजेट उपलब्ध गराएको छ । यस्तै, होल्डिङ सेन्टर सन्चालन तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, खोखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई ५/५ लाख बजेट उपलब्ध गराएको राईले बताउनुभयो ।   


प्रतिक्रिया