भक्तपुर प्रहरीद्वारा विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर वितरण

तस्बिर सौजन्य : महानगरीय प्रहरी परिसर भक्तपुर ।  

वैशाख २६, २०७८ | भक्तपुर

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरुबाट संकलन गरिएका खाली तथा भरिएको ९५ थान अक्सिजन सिलिन्डर कोरोना भाइरस संक्रमितको उपचारार्थ अस्पतालमा वितरण गरिएको छ । 

प्रहरीले उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रबाट गरेको २० वटा भरिएको सहित ९५ थान सिलिन्डर अस्पताललाई वितरण गरेको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले बताउनुभयो । अस्पतालमा उपचाररत बिरामीले प्रयोग गरिरहेको अक्सिजन सकिएको र मौज्दात नभएको जानकारीका आधारमा प्रहरीले अस्पतालहरुलाई अक्सिजन सिलिन्डर वितरण गरेको हो । 

भक्तपुर इन्टरनेशनल हस्पिटल प्रालि लोकन्थलीमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० थान खाली र ५ थान भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ थान भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ । 

अस्पतालहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै चिकित्सकले ग्यास सिलिन्डर सहयोग गर्न समेत अपिल गरिरहेको छ । 

प्रहरीले जिल्लामा सञ्चालित स्वास्थ्य क्षेत्र बाहेकमा प्रयोग भइरहेका उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गरेको र अन्य सिलिन्डर खोजी गरिरहेको एसपी थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया