गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

जेष्ठ ५, २०७८ | काठमाडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आज मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । पुरानै अनुहारलाई दाहोर्‍याउँदै उहाँले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले आजै प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनिताको शपथ लिएका छन् । 

केहीदिन अघि नै नियुक्त भएका खेलकुदमन्त्री राजीव गुरुङ भने काठमाडौं भएकाले फर्किएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा गत बैशाख २९ गते मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताउनुभयो ।

 सरकारले जेठ १५ गते नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने तयारी गरेको छ । 


प्रतिक्रिया