तिलोत्तमामा आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गरिने

जेष्ठ ६, २०७८ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय बैशाख १२ गतेबाट पूर्णत: बन्द छन् । 

नगरपालिकाको निर्देशन अनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयले बैशाख १२ गते अघि नै लिइसकेका थिए । बाँकी कक्षाको परीक्षा बैशाख १२ बाट सुरु भएकोमा कोरोना महामारी बढेपछि सोही दिनबाटै रोकिएको थियो । 

हालसम्म कोरोना महामारीको संक्रमण यथावत् रहेकोले विद्यार्थी विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्यांकन मार्फत परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताउनुभयो । 

बिहीबार बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्यांकन मार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

आन्तरिक मूल्यांकनको लागि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अंकको ४०/४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ । 

समितिको बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षाको लागि समेत सोही अनुसारको मापदण्डको आधारमा मूल्यांकन गरी त्यसको विवरण जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई सूचित गरेको छ । 

नगरपालिकाले नतिजा प्रकाशित गर्नुभन्दा अघि नयाँ शैक्षिक सत्रको भर्ना तथा अनलाइन कक्षा नचलाउन विद्यालयलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया