कोरोना रोकथामका लागि लुम्बिनी प्रदेशद्वारा पौने ८ करोड विनियोजन

जेष्ठ ९, २०७८ | बुटवल

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण र औषधि, उपकरण एवं जनशक्ति व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले करीब ८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रदेश सरकारले प्रदेश आपूर्ति केन्द्र, कोरोना विशेष अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयका लागि ७ करोड ६४ लाख रुपैयाँ पठाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष मार्फत सो रकम पठाउने निर्णय भएको प्रवक्ता डा.पुष्पराज पौडेलले बताउनुभयो ।

कोषबाट सबै भन्दा धेरै रकम प्रदेश आपूर्ति केन्द्रका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । सो बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्ेरटर, पीपीई, कोरोना परीक्षण किट, केमिकल लगायत खरिद गरिने मन्त्रालयले जनाएको छ । 

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका लागि २० लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको उपचार हुने पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताल, कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बर्दियाको गुलसियास्थित बर्दिया अस्पतालका लागि १५/१५ लाख गरी ४५ लाख रुपैयाँ छुट्याएको छ । 

प्रदेशका पहाडी ६ जिल्ला अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुम पश्चिमका एक/एक र पाल्पाका २ गरी ७ वटा अस्पताललाई १० लाखका दरले ७० लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, समुदायमा संक्रमण रोक्न गरिने कार्यका लागि १२ वटै स्वास्थ्य कार्यालयलाई ५ लाखका दरले ६० लाख रुपैयाँ छुट्याएको छ । 

प्रदेशमा रहेका ९ वटा आयुर्वेद चिकित्सालयका लागि १४ लाख रुपैयाँ पठाएको छ । उता कोरोना उपचार भईरहेको भैरहवास्थित भीम अस्पतालमा आइसोलेशन व्यवस्थापन गर्न १५ लाख र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयू भवनको लिफ्ट र जेनेटर खरिदका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको मन्त्रालय प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया