ख्वप अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

जेष्ठ ३०, २०७८ | भक्तपुर
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई चीनको शान्नानबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । भक्तपुर नगरसँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १ सय वटा र आईसीयू बेड ५० वटा रहेको प्राप्त भएको हो ।
तातोपानी नाका मार्फत पठाइएको सो सामग्री च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । नगरपालिकाका अनुसार १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ ।
२०७३ साउन ३० मा भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । भगिनी सम्बन्ध भएपछि दुई सहरबीच पटक–पटक अनुभव र सहयोग आदानप्रदान हुँदै आएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड–१९ का संक्रमितका लागि ख्वप अस्पताल अन्तर्गत २५ शय्याको एचडीयूसहित ७५ शय्याको कोभिड युनिट सञ्चालन गर्दै आइरहेको छ ।
त्यसैगरी, ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माणका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आइतबारसम्म ५ करोड ७७ लाख ४१ हजार १ सय ३ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ ।
कोभिड युनिटमा आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणका लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै जेठ ५ गतेदेखि विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।