एमाले संसदीय दलद्वारा ३ मन्त्रीलाई सरकार छाड्न निर्देशन

असार ४, २०७८

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी आफ्ना ३ सांसदलाई राजीनामा दिन निर्देशन दिएको छ । वैशाख ४ गते सांसदबाट पदमुक्त भएपछि सरकारमा सहभागी भएका उनीहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेपछि आज संसदीय दलले सरकारबाट फिर्ता हुन निर्देश गरेको हो । 

वैशाख ३ गते पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले सांसदहरु अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त गरेको थियो । सर्वोच्चले एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको निर्णयलाई मान्यता दिन नसकिने भन्दै पदमा बहाली गर्न अन्तरिम आदेश गरेको थियो । सोही आधारमा कर्णाली प्रदेशसभा सचिवालयले मन्त्रीसमेत रहेका तीनैजना सांसदलाई प्रतिपक्षी लहरमा बस्ने व्यवस्था गरेको थियो । 

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले सर्वोच्चको आदेशपछि उनीहरु वैधानिक रुपमा एमालेका सांसद भएकाले दलको निर्णयबिना सरकारमा सहभागी हुन नमिल्ने बताउनुभयो । सरकारमा सहभागि तीन नेताले भने नवौं महाधिवेशनबाट निर्वाचित भई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका उपाध्यक्ष युवराज ज्ञवालीको निर्देशन भए मात्र सरकारबाट बाहिरिने बताएका छन् । 


प्रतिक्रिया