मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

असार ४, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङले विश्वासको मत दिएका हुन् । 

प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री पोखरेलले राख्नुभएको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा एमालेका २७ सांसदको मत परेको थियो । पोखरेल एक स्वतन्त्र र ४ दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

यसरी नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उहाँले एक सातामै विश्वासको मत लिनुभएको हो । जेठ २७ गते पृथ्वीसुव्वा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि ३१ सांसदको बहुमत पुर्‍याएर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो ।  


प्रतिक्रिया