विवाह भोज खाएका ३५ जनामा कोरोना संक्रमण

असार ८, २०७८ | बागलुङ

दुई साता अघि विवाहको भोज खान गएका बागलुङ्को एउटै टोलका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा भोज खान गएका ५० जनामा गरिएको पीसीआर परीक्षणमा ३५ जनामा संक्रमण देखिएको हो । 

भोज खाएको केही दिनपछि उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले पीसीआर परीक्षण गराएको थियो । अधिकांशमा कोरोना संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । 

‘अधिकांश लक्षण सहितका संक्रमित छन्’ उहाँले भन्नुभयो, ‘निषेधाज्ञाको समयमा पनि धुमधामले विवाह र भोज लगाएका रहेछन् ।’ सदरमुकाम नजिकै भएकोले बजारबासी समेत त्रसित छन् । खोलाखेतबासीले भने विवाहमा आफ्नै परिवार र टोलबासी मात्रै रहेको दाबी गरेका छन् । संक्रमण कसरी फैलियो भन्नेमा उनीहरु समेत अनभिज्ञ छन् ।

टोलभरिनै संक्रमण देखिएपछि प्रशासन र नगरपालिकाले सो क्षेत्रलाई शिल गर्ने तयारी गरेको वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । ‘संक्रमितलाई बाहिर हिँड्डुल गर्न नदिने, अत्यावश्यक सेवा वडाले उपलब्ध गराउने गरी काम हुँदैछ,’ उहाँले भन्नुभयो, ‘सिंगो बजारलाई जोखिम हुने गरी आउजाउ गर्न दिइने छैन ।’ 

संक्रमित सबैलाई होम आइसोलेसनमा राखिएको छ । जटिल समस्या भएमा तत्काल अस्पताल ल्याउने गरी व्यवस्था मिलाइएको वडाध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । यसअघि बागलुङकै बडिगाड गाउँपालिकामा विवाहको भोज खाँदा कोरोना संक्रमणबाट वडा नम्बर ४ मा एकै परिवारका ४ जना सहित ७ को मृत्यु भएको थियो । 

बागलुङकै बलेवा क्षेत्रमा पनि विवाह, चौरासी पूजा लगायतका पर्व मनाउँदा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । बागलुङ नगरपालिका–३ बाट वडा नम्बर–८ जन्ती गएको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । निषेधाज्ञाकै समयमा सो टोलमा पनि विवाह उत्सव गरिएपछि संक्रमित बढेका हुन् । 


प्रतिक्रिया