१५ घण्टापछि एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

असार २४, २०७८ | पाल्पा

ढुंगा सहितको ठूलो पहिरो खसेपछि आज बिहान ३ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ५, हिउँदेखोला, गिट्टीखानी, तिनाउ गाउँपालिका५ झुम्सा, पानीमिल तल्लो र माथिल्लो सिद्धबाबा लगायतका स्थानमा खसेको ढुंगा सहितको ठूलो पहिरो पन्छाएपछि एकतर्फी खुलेको दोभान प्रहरी चौकीले जनाएको छ । 

सडक डिभिजनले तानसेन र दोभानतर्फबाट बिहानैदेखि दुई वटा एक्साभेजर, डोजर, लगाएर पहिरो पन्छाएको दोभान प्रहरी चौकीले जनाएको छ । हिउँदेखोला र गिट्टी खानी बीचको पहिरोमा भने साना सवारी साधन मात्र एकतर्फि गुडाउन सकिने छ । ठूला ठूला ढुंगा खसेकाले राजमार्ग खुलाउन केही समय ढिला भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि रोकिएका पहाडी भेगबाट बुटवल तर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि खाद्यान्न बोकेकाका साथै निजी सयौं सवारी साधन सडकमै रोकिएका थिए । 


प्रतिक्रिया