पोखरा–नेपालगञ्ज उडान सुरु

श्रावण १७, २०७८ | पोखरा

बुद्ध एयरले आइतबारदेखि पोखरादेखि नेपालगञ्ज सिधा हवाई उडान थालेको छ । अबदेखि सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयर पोखराका प्रमुख गौतम बरालका अनुसार अहिले १८ सिटे १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको हो । पोखराबाट बिहान ९.१० बजे र नेपालगञ्जबाट १० बजे उडान हुनेछ । 

एकतर्फी उडानको समय ३५ मिनेट रहेको छ । भाडादर भने ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ । 

यसअघि सीता एयरले गत फागनु ७ देखि लकडाउन हुने बेलासम्म सातामा दुई दिन चार्टर उडान गर्दै आएको थियो । सेडुअलमा भने पहिलोपटक बुद्धले उडान थालेको हो । हाल काठमाडौं, भैरहवा र भरतपुर नियमित उडान गर्दै आएको बुद्धले छिटै नै बिराटनगर र सिमरा उडान थाल्ने भएको छ ।

नेपालगञ्जसँग सिधा हवाई उडानले जोडिएपछि आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने विश्वास पर्यटन व्यवसायीको छ । विशेष गरी भारतीय शहर लखनउ र कानपुरबाट भारतीय पर्यटक पोखरा आउन सहज हुने नेपाल एसोशियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनुभयो । 

‘पोखराबाट बर्दीया, राराताल जाने र उताबाट पोखरा आउने क्रम बढ्ने विश्वास छ’ उहाँले भन्नुभयो, ‘लुम्बिनीको राजधानी दाङलगायत कर्णाली र सुदूरपश्चिम प्रदेश समेत जोडिएको छ ।’ पहिलो उडानका यात्रुलाई पोखराबाट बिदाइ र नेपालगञ्जबाट आएकालाई स्वागत गरिएको थियो । 


प्रतिक्रिया