रौतहटको माधव नारायण नगरपालिकामा उत्पन्न विवाद समाधानको प्रयास जारी

श्रावण १८, २०७८ | रौतहट

रौतहटको माधव नारायण नगरपालिका–४ स्थित मावि बिसुनपूर्वाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा उत्पन्न विवाद समाधानका लागि सोमबार पनि छलफल भइरहेको छ । अध्यक्ष चयनको विषयमा उत्पन्न विवाद चर्किएपछि भएको झडपमा आइतबार १५ जना घाइते भएका थिए ।

गत वैशाखमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरिएको थियो । मृत्यु भएका अध्यक्ष भगतका परिवारका सदस्य नै समितिका अध्यक्ष हुनुपर्ने माग हुँदै आएको थियो । तर ४ नम्बर वडा अध्यक्ष रामदेनी मुखियाले भने आफ्नो समुहका मानिस नै समितिको अध्यक्ष हुनुपर्ने अडान राखेपछि विवाद भएको हो ।

विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै अध्यक्ष हुन पाउने प्रावधान रहेकोले वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । भर्नाको विषयमा कुरा नमिलेपछि विवाद शुरु भएको थियो । सो क्रममा आफ्ना छोरामाथि हातपात भएको मुखियाको आरोप छ । विद्यालयमा पूर्व अध्यक्ष भगत समर्थकहरु पनि भर्नाका लागि पुगेका थिए । विवादले उग्र रुप लिएपछि विद्यालय परिसमै दुई पक्षबीच बाँसको भाटाले हानहान भएको थियो । 


प्रतिक्रिया