३४ शिक्षकले लिए स्वेच्छिक अवकास

भाद्र १४, २०७८ | भक्तपुर

भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३४ जना शिक्षकले स्वेच्छिक अवकास लिएका छन् । नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा दरबन्दी मिलान तथा व्यवस्थापनको लागि निवृत्तिभरण भईसकेका र अनिवार्य अवकास चाहने शिक्षकलाई डेढ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म प्रोत्साहन सुविधा दिएपछि उनीहरुले स्वेच्छिक अवकास लिएका हुन् । 

नगरपालिकाले १ वर्ष सेवा अवधि बाँकी भएका शिक्षकका लागि १ लाख ५० हजार रुपैयाँ, १ वर्षभन्दा बढी २ वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकलाई २ लाख रुपैयाँ, २ वर्षभन्दा बढी ३ वर्षसम्मको अवधि बाँकी भएका शिक्षकलाई २ लाख ५० हजार रुपैयाँ, ३ वर्षभन्दा बढी ४ वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकलाई ३ लाख रुपैयाँ र ४ वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका शिक्षकलाई ३ लाख ५० हजार रुपैयाँ प्रोत्साहन सुविधाको व्यवस्था गरेको थियो । 

नगरपालिकाले २३ जना शिक्षकलाई जनही ३ लाख ५० हजार रुपैयाँ, ३ जनालाई जनही ३ लाख रुपैयाँ, २ जनालाई २ लाख ५० हजार रुपैयाँ, २ जनालाई २ लाख रुपैयाँ र ४ जनालाई जनही १ लाख ५० हजार रुपैयाँ गरी १ करोड ४ लाख ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएर बिदाई गरेको नगरपालिकाका निर्देशक अनिरुद्र नेपालले बताउनुभयो । 

सूर्यविनायक नगरपालिका अन्तर्गत १० माध्यमिक र २४ आधारभूत गरी ३४ सामुदायिक विद्यालय आबद्ध छन् । नगरपालिकामा प्रावि तहमा २ सय २४ स्थायी र ११ राहत दरबन्दी शिक्षक, निमावि तहमा ४२ स्थायी र १२ राहत दरबन्दी शिक्षक तथा मावि तहमा ३१ स्थायी र ६ राहत दरबन्दी शिक्षक रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । जसमध्ये, ४३ शिक्षक दरबन्दी भन्दाबढी थियो । दरबन्दी मिलानकै लागि नगरपालिकाले प्रोत्साहन सुविधाको व्यवस्था गरेको हो । 


प्रतिक्रिया