प्रदेश २ का १० सांसदले रोजे लोकतान्त्रिक समाजवादी

सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेका लोसपा सांसद र कार्यकर्ताहरु । तस्बिर : सन्तोष सिंह/रेडियो कान्तिपुर । 

भाद्र १६, २०७८ | धनुषा

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उनीहरुले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेर सनाखत गरेका हुन् । 

लोसपा अध्यक्ष महन्थ ठाकुरसँगको छलफलपछि १० जना प्रदेश सांसद सनाखत गरेको हो । लोसपा रोज्दै सनाखत गर्नेमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिता कुमारी चौधरी र जानकी शरण साह रहेको लोसपा कार्यकारिणी सदस्य एवं प्रदेश सांसद जितेन्द्र सोनलले बताउनुभयो । 

निर्वाचन कार्यालय पुगेका प्रदेश सांसद जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गराएनन् । बाँकी रहेका प्रदेश सांसदलाई ल्याएपछि तीनै जनाले सँगै सनाखत गर्ने लोसपाले जनाएको छ । प्रदेश सांसद रानी शर्मा जनकपुर आउन नसकेका कारण निर्वाचन कार्यालय पुगेका तीन प्रदेश सांसदले समेत सनाखत गराएनन् । 

सांसदहरुलाई लिएर कार्यकारिणी सदस्य सोनल निर्वाचन कार्यालय पुगेका थिए । सोनलका अनुसार जनकपुरमा उपलब्ध सांसदहरुले बुधबार सनाखत गरेका हुन् । बाँकी सांसद बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय पुग्ने लोसपाले जनाएको छ । 

‘जनता समाजवादी पार्टीबाट राम्रै संख्यामा साथीहरु लोसपामा आउने छन, ‘सोनलले भन्नुभयो, ‘स्थानीय तह र प्रदेश सांसदका जनप्रतिनिधिले सनाखत गरेपछि लोसपा मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने छन् ।’ 

लोसपमा जसपाका १४ जना सांसद खुलेका छन् । अन्य सांसदलाई लोसपा ल्याउन पहल भइरहेको छ । लोसपाका एक नेताका अनुसार जनता समाजवादीका ५४ जना मध्ये १४ जना लोसापामा खुलेर सनाखत गर्न तयार रहेको र थप ४ जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भईरहेको छ । 


प्रतिक्रिया