पहिरोमा पुरिएर पोखरामा ३ जनाको मृत्यु, एक बालक बेपत्ता

भाद्र १७, २०७८ | पोखरा

कास्कीका विभिन्न स्थानमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५ जना घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण झरेको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । 

श्रेष्ठको उपचारका क्रममा मनिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।

यसैगरी, पहिरोले पोखरा–११ भन्ज्याङ नमूनाटोलस्थित एक घर पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका डीएसपी सुवास हमालले बताउनुभयो । 

नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएकी छन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै, पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिंदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिष घाइते भएका छन् ।


प्रतिक्रिया