पर्वतमा पहिरोका कारण एकै परिवारका ५ जनासहित १० जनाको मृत्यु

भाद्र १८, २०७८ | काठमाडौं

पर्वतको विभिन्न स्थानमा गएको पहिरोका कारण एकै परिवारका ५ जनासहित १० जनाको मृत्यु भएको छ । एक वृद्धा बेपत्ता भएकी छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा एकै परिवारका ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भगवती शर्मा, शर्माका दुई छोरी १६ वर्षीया बिमला र ११ वर्षीया बिनीता र ९ वर्षीय वालकको मृत्यु भएको प्रदेश प्रहरीका डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।

त्यस्तै, कुश्मा–११ सिल्मीमा पहिरोले घर पुरिंदा स्थानीय मनिलाल पौडेलको घरमा पाहुना आएकी पर्वत मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोराको पनि मृत्यु भएको छ । त्यस्तै, कुश्मा–११ पकुवा ताल्चेमा बिहान पहिरोमा पुरिएर ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँको पहिरोमा ७० वर्षीया डल्ली पाध्याय पौडेल बेपत्ता भएकी छन् । यसैवीच, पर्वतको मोदी गाउँपालिका–५ आम्बोटमा पहिरोले पुरिएर ५० वर्षीया फुलमाया थापाको मृत्यु भएको छ । पहिरोका कारण विद्युत सेवा अवरुद्ध भएपछि सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया