नयाँ प्रधानसेनापति प्रभुराम शर्माद्धारा शपथ

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७८ | काठमाडौं

प्रभुराम शर्माले नेपाली सेनाको कमाण्ड सम्हाल्नुभएको छ । ४४ औं प्रधानसेनापतिको रुपमा उहाँले आजबाट सेनाको कमाण्ड सम्हालनु भएको हो । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए लगतै, भद्रकालीस्थित जंगी अड्डा पुगेर प्रधानसेनापति शर्माले पदभार ग्रहण गर्नु भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्लेले जानकारी दिनुभयो ।

पदभार ग्रहण अघि जंगी अड्डामा सैनिक टुकडीले नवनियुक्त प्रधानसेनापति शर्मालाई सम्मान गारद प्रदान गरेको थियो । नवनियुक्त प्रधानसेनापति शर्माका सामु मुख्य चुनौती भनेको नयाँ सैनिक संरचना ‘थ्री प्लस वान’ तीन जोड एकलाई कार्यान्वयनमा लैजानु हो । निवर्तमान प्रधानसेनापति पुर्णचन्द्र थापाले आफ्नो कार्यकालको अन्तिममा सेनाको नयाँ संरचना अघि बढाउनुभएको हो ।

यस्तै, कर्पोरेट सेनाको ट्याग हटाएर ब्यवसायीक सेना बनाउने अर्को चुनौती शर्माको काँधमा रहेको सुरक्षा मामिलाका जानकार इन्द्र अधिकारी बताउँनुहुन्छ । सेनाले राष्ट्रिय सुरक्षाको मामिलामा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई सल्लाह/सुझाव दिने गर्छ । राष्ट्रिय सुरक्षाको दायित्व अवलम्बन गर्नु पनि नवनियुक्त प्रधानसेनापति शर्माको चुनौती रहेको अधिकारी बताउँनुहुन्छ । शर्माको तीन वर्षे कार्यकाल २०८१ साल भदौ २४ सम्म रहनेछ ।     


प्रतिक्रिया