कान्तिपुरकर्मी परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

भाद्र ३०, २०७८ | पोखरा

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियार सम्मानित भएका छन् । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप आयोजना गर्दै आएको सहारा क्लबले बुधबार परियारलाई पुरस्कृत गरेको हो । 

क्लबको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशन समारोहमा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले परियारलाई पुरस्कार हस्तान्तरण गर्नु भएको हो । पुरस्कारको राशि २० हजार ५ सय ५५ रहेको छ । 

क्लबका सल्लाहकार एवं पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई यस वर्षको लागि उत्कृष्ट खेल पत्रकारको रुपमा छनोट गरेको थियो । 

खेलकुदलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्‍याउने एकजना खेल पत्रकारलाई क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि १५ पत्रकार पुरस्कृत भइसकेका छन् । 

पोखरामा रहेर डेढ दशकदेखि पत्रकारिता गरिरहेका परियारले यसअघि मिना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, सुशासन पत्रकारिता पुरस्कार, सोफाज लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । 


प्रतिक्रिया