विश्वकै उत्कृष्ट १० मा चाँगुनारायण नगरपालिका

आश्विन ५, २०७८ | भक्तपुर

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ अन्तर्गत सञ्चालित ‘द गोभल्याबको ओपन सिटी इन्क्युबेटर’ कार्यक्रममा चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ । 

अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगर पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले बताउनुभयो । नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । 

चाँगुनारायण नगरले विकास गरेको ओपन डाटाको कारण छनोटमा परेको समेत उहाँले बताउनुभयो । चाँगुनारायणसँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा परेको छ । 

ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी छ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटा सम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार तयार पार्नेछ । कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्यूयोर्कस्थित एक भर्चुअल कार्यक्रम मार्फत गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया