प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पारिश्रमिक नपाएपछि वडा कार्यालयमा तालाबन्दी

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेको भुक्तानी नदिएको भन्दै सिरहाको नरहा गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका श्रमिकहरु । तस्बिर : भरत जर्घामगर/रेडियो कान्तिपुर । 

आश्विन ६, २०७८ | सिरहा

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेको भुक्तानी नदिएको भन्दै सिरहाको नरहा गाउँपालिका–१ को वडा कार्यालयमा श्रमिकहरुले तालाबन्दी गरेका छन् । आफूहरुले काम गरेको रकम ५ महिना बितिसक्दा पनि नपाएको भन्दै ४३ जना कामदारहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । 

स्वरोजगार कार्यक्रम अन्तर्गत ४३ जना कामदारहरुले बैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको पारिश्रमिक भुक्तानी नपाएपछि तालाबन्दी गर्न बाध्य भएको कामदार सुनिल दासले बताए । उनले पटक पटक आफूहरुले पाउनुपर्ने भुक्तान रकमको लागि माग गरेपनि वडा कार्यालयले बेवास्ता गरेपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।

स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेका श्रमिकहरुले भुक्तानी रकम असार १५ गतेसम्म पाइसक्नु पर्ने भएपनि पाँच महिना बितिसक्दा पनि पारिश्रमिक पाउन नसकेको बताए । 

‘हामी गरिब मान्छे दैनिक ज्यालादारीमा काम गरेर खान्छौं, काम गरेको पैसा नै नपाएपछि हाम्रो गुजारा कसरी चल्छ ?’ श्रमिक गीतादेवी दासले भनिन्, ‘धनी घरको मान्छेहरुको काम समय मै भईहाल्छ । तर, हाम्रो ५ महिना भईसक्यो अहिले सम्म काम गरेको पैसा पाएको छैनौं ।’

उनले भुक्तानीका लागि आफूहरु गाउँपालिकासम्म धाईसक्दा समेत केही सुनवाइ नभएको बताए । वडा कार्यालयका अनुसार गत बैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेका ४३ जना कामदारले १० लाख ७५ हजार रुपैयाँ भुक्तानी पाएका छैनन् । एक कामदार बराबर २५ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । 

वडाध्यक्ष अशोक साहले सम्बन्धित कर्मचारीको लापरबाहीले श्रमिकहरुले पैसा पाउन नसकेको बताउनुभयो । कर्मचारीकै लापरबाहीका कारण आर्थिक वर्षभित्रै चेक बन्न नसको उहाँको भनाई छ । ‘वडाबाट आफूले गनुपर्ने सबै काम गरेर सम्बन्धित शाखा र लेखा शाखामा पठाएको हुँ,’ उहाँले भन्नुभयो, ‘तर लेखा र सम्बन्धित कर्मचारीको कारण निकासा हुन सकेको छैन ।’ 

वडाध्यक्ष साहले श्रमिकहरुले पाउनुपर्ने पारिश्रमिकको बारेमा आफूले पहल गरिरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया