विद्युत आपूर्ति बन्द हुँदा ५ दिनदेखि सिँगो गाउँ नै अन्धकार

आश्विन १४, २०७८ | गुल्मी

टान्सफर्मर जलेर विद्युत आपूर्ति बन्द भएपछि गुल्मीको मालिका गाउँपालिका–६ छापका स्थानीय पाँच दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । नेपाल विद्युत प्राधिकरणले समयमै मर्मतका लागि कुनै पहल नगर्दा पाँच दिनदेखि विद्युतविहीन बन्नु परेको स्थानीयको गुनासो छ । 

विद्युत आपूर्ति बन्द हुँदा टेलिफोन सेवा पनि अबरुद्ध हुनुका साथै कुटानी पिसानी, फर्निचर लगायत उद्योगहरु पनि बन्द भएको मालिका गाउँपालिका–५ छापकी हिमकला जिसीले बताइन् । 

छापहिलेको राहालेपाटामा रहेको विद्युतको टान्सफर्मरमा पाँच दिनअघि चट्याङ परेपछि जलेर विद्युत अवरुद्ध भएको स्थानीय शिवलाल अर्यालले बताए । चाडबाडको बेला कुटानीपिसानीको काम ठप्प भएको पनि उनले बताए ।

टान्सफर्मर मर्मतका लागि विद्युत प्राधिकरण कार्यालय गुल्मीलाई जानकारी गराएपनि सुनुवाइ नभएको वडा सदस्य युवराज महताराले बताउनुभयो । 

गुल्मीस्थित प्राधिकरणको कार्यालय प्रमुख ईश्वर कुमार श्रेष्ठले बुधबार टान्सफर्मर मर्मतका लागि तम्घास पठाइएका कारण शनिबार सम्ममा बत्ति बल्ने बताउनुभयो । 

बिग्रिएको टान्सफर्मर मर्मत गर्नका लागि २० दिन लाग्ने भएपनि आफूहरुले पुरानो टान्सफर्मर मर्मतका लागि पठाएको हुँदा तत्काल बत्ति बाल्न सम्भव भएको उहाँको भनाई छ । 


प्रतिक्रिया