स्वास्थ्य मन्त्रालयले भन्यो, 'कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा'

आश्विन ३१, २०७८ | काठमाडौं

कपिलवस्तुको कृष्णनगर नगरपालिकाकामा विगत दुई सातादेखि फैलिएको झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्राललयले आज एक विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा फैलिएको झाडापखाला नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायत संस्थाको समन्वयमा आवश्यक औषधि र स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको भन्दै प्रकोप नियन्त्रणमा रहेको जनाएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार हाल झाडापखाला तथा तथा बान्ताका कारण ८ सय ८५ जना संक्रमित भएका छन् । शिवराज अस्पतालमा आज मात्रै २५ जना झाडापखालाका बिरामी उपचाररत छन् भने हालसम्म ८ सय १९ जना निको भई डिस्चार्ज भएका छन् । 

झाडापखालाको प्रकोपबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका बिरामीका दिसाका नमूनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएको थियो । 

नमूना परीक्षणका क्रममा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको मन्त्रालयले जनाएको छ । यस्तै, संकलन गरिएका खानेपानीका १५ नमूनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया