ढोरपाटनमा सिकार खुला, नाउर र झारल गरी १२ सिकार हुने

कार्तिक २, २०७८ | बागलुङ

ढोरपाटन आरक्षमा नाउर र झारलको सिकार खुला भएको छ । कात्तिक महिनाका लागि ७ वटा नाउर र ५ वटा झारल गरी १२ वन्यजन्तु सिकार गर्न सरकारले अनुमति दिएको छ । सरकारले सिकार खुला गरेपछि सिकारीको टोली आउन सुरु भएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्य संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो सिजनका लागि मंगलबारदेखि सिकार अनुमति दिएको हो । ढोरपाटन सिकार आरक्षको मुख्य आकर्षण नाउर हो । 

यो सिजनमा हिमालयन सफारी, नेपाल ट्राभल एक्पिडिसन, ट्रयाक एण्ड ट्रेल्स, हिमालयन वाइल्ड लाइफ फिटर, लगायत कम्पनी मार्फत युरोपका विभिन्न देशबाट सिकारी आउने तयारी गरेको कँडेलले बताउनुभयो । उनीहरुले कात्तिक २ देखि मंसिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउने छन् ।

ढोरपाटनमा आउने सिकारीले सिकारका लागि राजश्व राजश्व तिर्छन् । आरक्ष कार्यालयले ७ वटै ब्लकमा कर्मचारी, सुरक्षाकर्मी समेत पठाईसकेको छ । सिकारीले क्याम्प फायर गरेर २१ दिनसम्म ब्लकमै बसेर सिकार गर्छन् । उनीहरुको साथमा पेशेवर सिकारी समेत हुन्छन् । 

ढोरपाटनमा आउने सिकारीले सबैभन्दा ठूलो नाउर सिकार गर्न मन पराउने गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । ‘सिकार गरेपछि उनीहरुले नाउरको सिंग लैजान खोज्छन् । युरोप लगायत देशमा सिकारीले जति ठूलो सिंग लग्यो उती सामाजिक प्रतिष्ठाको विषय बन्ने भएकोले धेरै वर्षको नाउर खोज्छन्,’ कँडेलले भन्नुभयो, ‘सिकारी आउने समय पारेर ढोरपाटनमा व्यवसाय पनि बढ्ने गरेको छ ।’

 होटल तथा घरेलु पर्यटकहरुले कात्तिक महिना ढोरपाटन भरिभराउ हुने गरेको कँडेलले जानकारी दिनुभयो । गत वर्षको बाढीले सडक बगाए पनि जनै पूर्णिमामा पनि उत्तिकै मानिस ढोरपाटन पुगेका थिए । 

ढोरबाराहीको पूजा गर्न पनि धेरै मानिस जाने चलन छ । त्यसबाहेक सिकार आरक्ष हेर्ने तथा घुम्ने, यहाँका अन्य धार्मिक स्थल र बस्ती तथा जनजीवन अध्ययन गर्नेको पनि भिड लाग्ने गरेको स्थानीय दिपक थापाले जानकारी दिए । 

यस वर्ष सिकार खेल्ने दूरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रति नाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रति झारल ८० हजारदेखि एक लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यसबाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले जनाएको छ । 

धौलागिरि हिमशृंखलाभित्र रुकुम, म्याग्दी र बागलुङ तीन जिल्लाको १ हजार ३ सय २५ वर्गकिमीमा फैलिएको क्षेत्रलाई समेटेर २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षले ०४४ सालबाट मात्र सरकारी मान्यता पाएको हो । आरक्षमा असोज–कात्तिक र चैत–वैशाख गरी दुई सिजनमा सिकार गर्न सकिन्छ ।


प्रतिक्रिया