शंकरनगर वन–विहारलाई अनुसन्धान केन्द्र बनाइने

कार्तिक २६, २०७८ | बुटवल

रुपन्देहीको मुख्य पर्यटकीय क्षेत्र शंकरनगर वन–विहार तथा अनुसन्धान केन्द्रलाई वन्यजन्तु तथा वनस्पतिको अनुसन्धान केन्द्रका रुपमा अगाडि बढाइने भएको छ । केन्द्रमा रहेका जडीबुटी, वनस्पति, जैविक विविधता अनुसन्धान केन्द्र, जंगलका वन्यजन्तु तथा चिडियाखानामा रहेका वन्यजन्तु बारे अध्ययन अनुसन्धानमैत्री वातावरण बनाइने छ । 

केन्द्रको शुक्रबार आयोजित एघारौँ वार्षिक साधारण सभाले पर्यटक केन्द्रका रुपमा विकास भएको केन्द्रलाई योगध्यान केन्द्रका रुपमा समेत विकास गर्न योजना बनाउने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले केन्द्रमा एघार तले भ्यू टावर निर्माण अन्तिम चरणमा पगेकाले तत्काल थप संरचना बनाउन आवश्यक नरहेको बताउनुभयो । 

२ बिगाहा क्षेत्रफलमा एघार तले भ्यू टावर करीब १३ करोड रुपैयाँको लागतमा बन्दैछ । राजमार्गबाट करीब एक किलोमिटर दूरीमा रहेको शंकरनगर सामुदायिक वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वृक्षारोपण क्षेत्रलाई व्यवस्थित गरी वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको छ । 

केन्द्रमा बालरेल, चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थल लगायत छन् । चिडियाखानामा चितुवा, मृग, निलगाई, अजिङगर, भालु, खरायो, चाइनिज मुसा, मयुर सारस लगायत दुइ दर्जन प्रकारका पशुपंक्षी त्यसमा संरक्षित छन् । 

वरपर जंगल बीचमा रमणीय पार्क र चिडियाखाना रहेको वनबाटिका विहारमा पर्यटकहरु घुम्न आउँछन् । विवाह, वनभोज, शुभकार्य र सांगीतिक कार्यक्रमका लागि आउनेको संख्या धेरै छ । 

नमूना कामको अध्ययनका लागि भन्दै देशका विभिन्न जिल्लाका साथै भारत, बंगलादेश, श्रीलंका लगायत देशका सामुदायिक वनका पदाधिकारीहरु पनि अध्ययनका लागि आउने गरेको केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । उहाँका अनुसार केन्द्रको पूर्वाधार हालसम्म १० करोड बढी लगानी भएको छ । 


प्रतिक्रिया