एमयूले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने

मंसिर २३, २०७८ | काठमाडौं

मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको उपाधिबाट सम्मान गर्ने निर्णय गरेको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्‍याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । 

बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।


प्रतिक्रिया