भृकुटीमण्डपमा राप्रपा अध्यक्ष लिङदेनको अभिव्यक्ति: ओली र प्रचण्डको एउटै भाका, राजालाई पार्टी खोल्न माधव नेपालको सुझाव

मंसिर २४, २०७८ | काठमाडौं

गणतन्त्र स्थापनापछि पनि शासकीय व्यवस्थापन सही ढंगमा नभएपछि आम जनताको अपेक्षा अनुसार काम नहुँदा राजनीतिक नेतृत्वको चर्को आलोचना भइरहेका छन् । पटक पटकको आन्दोलन अनि निर्वाचनपछि मुलुकले स्थायित्व पाउने र विकास निर्माण गति लिने आशामाथि तुषारापात भएकाले सबैजसो नेताहरुप्रति असन्तुष्टीका स्वरहरु बढ्दै गएका छन् । यही मेसोमा नेपाली कंग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले दिएको एउटा अभिव्यक्तिको खुवै चर्चा भयो ।

अघिल्लो साता आफ्नो पार्टीको महाधिवेशनबाट नेतृत्व हत्याएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन कंग्रेस महाधिवेशनका लागि शुभकामना दिन पुगेका थिए । भृकुटीमण्डपमा भएको निर्वाचनमा आफ्ना राजनीतिक सहकर्मी कमल थापालाई पराजित गरेर चर्चामा आएका उनै राजतन्त्र र हिन्दू राष्ट्रका पक्षधर लिङदेनले भृकुटीमण्डपमै आयोजित अर्को पार्टीको महाधिवेशनमा नेताहरुको छवि कमजोर भएको टिप्पणी गरे । उनले भने– “आज भोलि गाउँघरमा नेताहरु जाँदा जनताले को आयो भन्दा चोरहरु आए भनेर भन्छन् ।”

झापाबाट गएको निर्वाचनमा राप्रपाको तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद लिङ्देनको यो अभिव्यक्तिप्रति गणतन्त्रवादी नेताहरुले एउटै मञ्चबाट चर्को प्रतिवाद गरे । जब आफ्नो बोल्ने पालो आयो, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उनको अभिव्यक्तिलाई लोकतान्त्रिक दल र नेतालाई बदनाम गर्न खोज्ने प्रवृत्ति भन्दै आलोचना गरे । उनले भने– “एक जना वक्ताले देश र गाउँघरमा जाँदा नेताहरु होइन, चोरहरु आए भन्छन् भनेर भन्नुभयो, यो साँचो होइन, लोकतन्त्र पक्षधर नेता र पार्टीलाई बदनाम गराउन खोजिएको हो ।”

नेकपा विभाजनपछि पहिलो पटक एकै मञ्चमा देखिएका माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी ओलीले लिङदेनको अभिव्यक्तिविरुद्ध भने भाका मिलाएका थिए । राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेनको भनाइलाई संकेत गर्दै ओलीले भने–“नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिड्ने भर्खर सभापति जित्ने साथीमा रापताप होला, भर्खर भर्खर बाच्छी हिड्न जान्दैन, अलि बढी कुद्छ, अलि पछि ठिक हुन्छ भन्ने लागेको छ ।”

ओली र दाहालका पुराना सहकर्मी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कंग्रेसको महाधिवेशनमा बोल्दै परिवर्तनविरोधी शक्ति सल्बलाउन थालेको टिप्पणी गरेका थिए । नेपालले पूर्व राजाको भूमिकालाई लक्षित गर्दै भने–“प्रतिगामी तत्वलाई भन्न चाहान्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुहोस्, अब नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राम्रो के हुन्छ भने राजाले पनि नयाँ पार्टी खोले हुन्छ होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । हामीलाई एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन ।”

गणतन्त्र स्थापनापछि राप्रपाका धेरै जसो नेताहरुले गणतन्त्र पक्षधर दल र पार्टीविरुद्ध अभिव्यक्ति दिनु त्यति नौलो होइन । एउटै मञ्चमा नेताहरुले दिएका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पक्ष विपक्षमा टिप्पणी हुनु स्वभाविक समेत हो । तर नेतृत्वप्रतिको अविश्वास र वितृष्णाले लोकतान्त्रिक व्यवस्थाविरुद्ध जन्माउन सक्ने जोखिमतर्फ सबैको ध्यान जानु चाहि सबै भन्दा महत्वपूर्ण हो । 


प्रतिक्रिया