मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाका मृत्यु

पुस १८, २०७८

पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् । शव दाहसंस्कारका लागि रुपन्देहीको बुटवल देवीनगरदेखि रुरुक्षेत्र कालीगण्डकी रिडी जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस बिहान साढे १० बजे तिर दुर्घटनामा परेको हो । एसपी सन्तोषकुमार भट्टराईका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल–१७, का ३० वर्षीय पशुपति रसाइली र ४० वर्षीय खुमबहादुर राना, बुटवल–११, का ३२ वर्षीय बिजय थापा क्षेत्री, अर्घाखाँचीको मालारानी–२ का २८ वर्षीय भोजेन्द्र विक, ३६ बर्षीय मोहन कुँवर, २५ वर्षीय शंकर विक र ३३ वर्षीय अर्जुन विक छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका बीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । घाइते कृष्ण बहादुर नेपालीका अनुसार ओरालो र चिप्लो बाटोमा अचानक दुर्घटना भएको हो । घाइतेमध्ये ८ जनाको लुम्बिनी मेडिकल कलेजमा र बाँकीको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।   


प्रतिक्रिया